कार्य विवरण

अध्ययन केन्द्रले नेपाल सरकारको वन क्षेत्रसँग सम्बन्धित कानून, नीति, रणनीति तथा योजनाले निर्दिष्ट गरेका क्षेत्रहरुलाई मध्यनजर गर्दै देहायका कार्यहरु गर्नको लागि सहयोग र सहजीकरण गर्नेछ ।

अध्ययन अनुसन्धान तथा क्षमता विकास

वन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा कलेज, अनुसन्धान निकाय, नीति निर्माण गर्ने निकाय, स्वदेश तथा विदेशका विश्वविद्यालय, शैक्षिक निकाय तथा अनुसन्धानमूलक संस्था तथा कम्पनीहरू, उपभोक्ता समूहका संघ, महासंघसँग समन्वय तथा आवद्धता गरीगराई वन स्रोत व्यवस्थापन, समसामयिक मुद्दा, सवाल र चासोमा अध्ययन अनुसन्धान गर्ने र क्षमता विकास गर्ने । सामुदायिक वनका विविध पक्षहरुको आधिकारिक तथ्याँक व्यवस्थापन गर्ने ।

कोष व्यवस्थापन

• नेपाल सरकारबाट नियमित रुपमा प्राप्त गरिने वार्षिक कार्यक्रम तथा वजेटका अतिरिक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका माध्यमले समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी अध्ययन अनुसन्धानका कार्यका लागि आवश्यक रकम जुटाउने । साथै सामुदायिक वन उपभोक्ता समुहसँग रहेको निष्कृय पूँजीलाई वन विकास र वन उद्यममा परिचालन गर्न सहजीकरण गर्ने ।

मूल्याकंन तथा पुरस्कार व्यवस्थापन

सामुदायिक वन विकासको कार्यमा योगदान पुयाएका व्यक्ति, संघसंस्था पहिचान गरी उनीहरूको योगदानलाई अभिलेखीकरण गर्नाका साथै मूल्याकंन द्वारा कदर तथा पुरस्कारको व्यवस्था गर्ने । यसका साथै समुदायमा आधारित वन व्यवस्थापन पद्धतिको ऐतिहासिकता, विकासक्रम, सफलता र उपलब्धिको अभिलेखीकरण गर्ने ।

पुस्तकालय स्थापना

अध्ययन केन्द्रमा अत्याधुनिक सुविधासम्पन्न प्रविधियुक्त पुस्तकालय स्थापना तथा सञ्चालन गर्ने । वन व्यवस्थापन पद्धती अवलम्वन

• उपभोक्ता समूहको आवश्यकता, चाहना र प्रजातीगत उपयुक्तताको आधारमा ठाउँ सुहाउदो वन व्यवस्थापन गर्न वैज्ञानिक वन व्यवस्थापनमा आधारित ढाँचाहरू विकसित गर्ने । समुदायमा आधारित वन व्यवस्थापन पद्धतिबाट वन स्रोतको उत्पादन र उत्पादकत्व बढाई सामुदायिक वनको प्रवर्द्धन गर्न नयाँ विधि, उपाय र प्रणाली विकसित गर्ने ।

गोष्ठी, सेमिनार तथा तालिम कार्यक्रम सञ्चालन

• उपभोक्ता समूह, नीति निर्माता, विश्वविद्यालय तथा कलेजका प्राध्यापक तथा विद्यार्थीलाई केन्द्रित गरी स्वीकृत पाठ्यक्रमा आधारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अल्पकालीन, मध्यकालीन, दीर्घकालीन सेमिनार तथा तालिम कार्यक्रम सञ्चालन गर्ने ।

बौद्धिक अधिकार

• समुदायमा आधारित वन व्यवस्थापन पद्धति तथा समूहसँग आबद्ध जनजाती समुदायको परम्परागत हक अधिकारको जगेर्ना गर्दै त्यस्ता सम्पदामाथि नेपालको बौद्धिक अधिकार स्थापित गर्दै विश्वव्यापीकरण गर्ने ।

उद्यम विकास, पैरवी, परामर्श सेवा संचालन

• समुदायमा आधारित वन व्यवस्थापन पद्धतिबाट जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी नीति निर्माण गर्न पैरवीको कार्य सञ्चालन गर्ने र वन स्रोत व्यवस्थापनसँग जोडिएका विषय अध्ययन अनुसन्धान, योजना निर्माण तथा कार्यान्वयन, बजार तथा उद्यम विकास, वातावरणीय सेवा लगायतका विषयमा एकल अथवा साझेदारी गरी परामर्श सेवा उपलब्ध गराउने ।

प्रचार-प्रसार तथा प्रकाशन

वन स्रोत व्यवस्थापन र समुदायमा आधारित वन व्यवस्थापन र संरक्षण सम्बन्धी प्रचार-प्रसार र प्रकाशनको कार्य गर्ने ।

प्रमाणिकरण नियमन

• सामुदायिक वनजन्य उत्पादनको गुणस्तर, दिगो व्यवस्थापनको मापदण्डको निर्धारण, प्रमाणिकरण र नियमन गर्ने ।

समुदायमा आधारित पर्यापर्यट

• नेपाल सरकारद्वारा स्विकृत मौजुदा वन नीति अनुरुप समुदायमा आधारित पर्यापर्यटन संचालनका लागी आवश्यक प्रविधी र सीप विकास सम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गर्ने ।

रिपोर्टिङ

•वन तथा भूसंरक्षण विभाग अर्न्तगतको संरचना भएको कारण आफ्ना गतिविधिको नियमित रिपोर्टिङ विभाग मार्फत गरिने छ ।

• विभाग तथा मन्त्रालयले लगाए अह्राएको अन्य कार्यहरु गर्ने ।