सामुदायिक वन अध्ययन केन्द्र कार्य विवरण (Terms of Reference )
परिचय
नेपालमा सामुदायिक वनको अवधारणाले मूर्तरुप लिएको करीव चार दशक भई सकेको छ । हालसम्म देशको कूल जनसंख्याको करीव ३५ प्रतिशत जनता सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध भईसकेका छन् । सामुदायिक वनका कार्ययोजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण आज देशका नागांपाखा र वञ्जर भूमिहरु हरियालीमा परिणत भई सकेका छन् । नेपाललाई विश्व जनमत समक्ष चिनाउनका लागी सामुदायिक वन आज एउटा गतिलो र भरपर्दो माध्यम बनेको अवस्था छ । यसका अतिरिक्त नेपालको ग्रामिण समुदायमा बस्ने जनताका लागि सामुदायिक वन जीविकोपार्जनको गतिलो माध्यम बनेको अवस्था एकातीर छ भने अर्कातीर सामुदायिक वनको दिगो व्यवस्थापन तथा उपभोक्ता वर्गको शसक्तिकरण गर्नु पर्ने विषय एउटा टडकारो आवश्यकताको रुपमा पनि देखिएको अवस्था छ । यसै सन्दर्भलाई मध्यनजर गरी वन तथा भू संरक्षण विभाग अर्न्तगत संघिय कार्यालयहरुको संगठन संरचनामा रहने गरी सामुदायिक. वन अध्ययन केन्द्र नेपाल गठन भएको छ । अध्ययन केन्द्रका लागी एक जना उप सचिवको नेतृत्वमा जम्माजम्मी १६ जना कर्मचारीहरुको दरवन्दी समेत स्विकृत भै कार्यालय संचालनार्थ छुट्टै वजेट समेत विनियोजन भएको अवस्था छ ।
नेपालमा सामुदायिक वनको उदगमस्थलका रुपमा रहेको सिन्धुपाल्चोक जिल्लाको ठोकर्पालाई यस अध्ययन केन्द्रको केन्द्रिय स्थलको रुपमा पहिचान गरिएको छ । अध्ययन केन्द्रका लागी आवश्यक पर्ने आधारभूत संरचनाहरु यसै आर्थिक वर्षबाट प्रारभ्भिक निर्माणको चरणमा प्रवेश गर्ने गरी कार्य शुभारम्भ गर्ने नेपाल सरकारको सोच रहेको छ । यसै परिप्रेक्षमा अध्ययन केन्द्रका तर्फबाट सम्पादन गर्नुपर्ने कार्यविवरणको रुपरेखा वन तथा भू-संरक्षण विभागका तर्फबाट तयार गरिएको छ ।
सोच : सामुदायिक वनः शसक्तिकरण र समृद्धिको आधार
लक्ष्य
सामुदायिक वनको प्रभावकारी व्यवस्थापन र प्रवर्द्धन गरी उपभोक्ताको आवश्यकता र चाहना पुरा गर्न शसक्तिकरणको माध्यमबाट उपयुक्त व्यवस्थापन कार्यपद्धति विकास गरी लागु गर्न कार्यमुलक अध्ययन, अनुसन्धान संचालन गरी नतीजा प्रदर्शन गर्ने कार्यमा सहयोग पुरयाउनु ।
उदेश्य
स्वदेश तथा विदेशका विश्वविद्यालय तथा अन्य शैक्षिक निकायका विद्यार्थी तथा इच्छुक व्यक्ति तथा संघसंस्थाका लागि समुदायमा आधारित वन व्यवस्थापन सम्बन्धी, अध्ययन, अनुसन्धान तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने ।
• समुदायमा आधारित वन व्यवस्थापन सम्बन्धी अनुसन्धनात्मक क्रियाकलाप सञ्चालन, अनुसन्धानका नतिजाको प्रचार-प्रसार, अनुसन्धानकर्ताको क्षमता विकास र प्रोत्साहनका लागि अनुसन्धान कोष स्थापना तथा सञ्चालन गर्ने ।
• समान उद्देश्य, रुचि तथा कार्यप्रकृती भएका स्वदेश तथा विदेशका विश्वविद्यालय, शैक्षिक निकाय तथा अनुसन्धानमूलक संस्था तथा कम्पनीहरूसँग साझेदारी तथा सहकार्य गर्ने ।
• सामुदायिक वनको आर्थिक, सामाजिक, साँस्कृतिक तथा पारिस्थितिकीय पक्ष, यसको उद्विकास तथा सामुदायिक वनबाट हुन सक्ने नवीनतम योगदानका लागि अन्वेषणजस्ता कार्यमा अध्ययन- अनुसन्धान गर्न गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त अनुसन्धानकर्तालाई जिम्मेवारी सुम्पने तथा सहकार्य गर्ने ।
• सामुदायिक वनको प्राज्ञिक तथा व्यावसायिक विकासको पैरवी तथा अन्य आवश्यक कार्य गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सन्जाल गठन गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने । तथा सामुदायिक वन अध्ययन केन्द्रलाई यस विषयको पाठशालाको रुपमा विकास गर्ने ।
• समुदायमा आधारित वन व्यवस्थापन प्रणलीलाई आर्थिक रुपमा आत्मनिर्भर वनाउन उपयुक्त संरचना निर्माण गर्ने र आर्थिक उपयोगिता वृद्धिका लागि आवश्यक कार्य वातावरण बनाउने ।
• नेपाल सरकारलाई समुदायमा आधरित वन व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम निर्माणमा आवश्यक पृष्ठपोषण उपलब्ध गराउने ।
• सामुदायिक वनको बहुआयामिक विषय र अन्वेषणका सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने गराउने
• सामाजिक वन व्यवस्थापन प्रणालीमा आधारित विद्यमान वन ब्यवस्थापन प्रणालीहरु सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, धार्मिक वन, कृषि वन, ग्रामिण वन, शहरी वन, पारिवारिक वन, फार्म फरेष्ट्री र एक्सटेनसन फरेष्ट्री जस्ता विषयहरुलाई सामुदायिक वन अध्ययन केन्द्रसँग आवद्ध गराई क्षमता विकास र उद्धेश्य प्राप्तिमा सहयोग गर्न आवश्यक कार्यहरु संचालन गर्ने ।